काठमाडौं, एजेन्सी - बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध अर्काे एक उजुरी दर्ता गरिएको छ । भारतीय सञ्चार माध्यमका अनुसार यसपटक उनलाई हिन्दु–मुस्लिमबीच विभाजन ल्याउने आरोप लागेको हो । मुम्बईस्थित बान्द्रा अदालतले साहिल असरफ अली सैयदले दिएको निवेदनअनुसार प्रहरीलाई कंगनाविरुद्ध मुद्दा दर्ता गर्न आदेश दिएको हो । कंगनाकी बहिनी रंगोलीविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ । चार दिनअघि कंगनाविरुद्ध तुमकुर (कर्नाटक) मा पनि उजुरी दर्ता गरिएको थियो । जसमा उनले किसानको अपमान गरेको अभियोग लगाइएको छ ।

उजुरीकर्ता साहिलले आफ्नो उजुरीमा भनेका छन्, ‘कंगना रनौतले पछिल्ला केही महिनायता लगातर बलिउडलाई वंशवाद र भेदभावको केन्द्र भनेर यस क्षेत्रको अपमान गरेकी छन् । आफ्नो अफिसियल ट्वीटर ह्यान्डलबाट ट्वीट गरेर र टिभीमा अन्तर्वार्ता दिएर उनले हिन्दु र मुस्लिम कलाकारबीच विभाजन ल्याएकी छन् ।’

साहिलले प्रमाणका लागि कंगनाले गरेका ट्वीट पनि अदालतमा पेस गरेका थिए । बान्द्रास्थित महानगर न्यायिक अधिकारी जयदेव वाय घुलेले कंगनाविरुद्ध फौजदारी प्रक्रिया संहिता (सिआरपिसी) को धारा १५६ (३) बमोजिम उजुरी (एफआरआई) दर्ता गरी अनुसन्धान गर्न आदेश दिएका हुन् ।

अभिनेत्री कंगनाविरुद्ध सोधपुछ हुनसक्छ र आरोप पुष्टि भएमा उनी पक्राउ पनि पर्न सक्ने भारतीय सञ्चार माध्यमले जनाएका छन् । यसैबीच अभिनेत्री कंगनाले उक्त आदेशप्रति प्रतिक्रिया जनाउँदै ट्वीटरमा लेखेकी छन्, ‘‘नवरात्रमा को–को उपवास बस्दै हुनुहुन्छ ? यी तस्बिर आज खिचिएका हुन्, म पनि उपवास बसिरहेकी छु । मेराविरुद्ध महाराष्ट्रमा अर्काे एफआरआई (उजुरी) दर्ता भएको छ । महाराष्ट्रमा पप्पु सेना मेरो बाटो हेरिरहेको छ । मेरो धेरै याद गर्नुपर्दैन, म चाँडै आउनेछु ।’ अभिनेत्री कंगनाको विरुद्धमा बलियो प्रमाण फेला परेको खण्डमा उनलाई प्रहरीले गिरफ्तार पनि गर्न सक्नेछ ।