धनगढी - अविरल वर्षाका कारण नदीमा बाढी आइ कैलालीमा डेढ सयभन्दा बढी घर डुबानमा परेको छ । जिल्लका विभिन्न नदीमा आएको बाढीले भजनी नगरपालिकामा, जोशीपुर गाउँपालिकामात्रै गरेर डेढ सयभन्दा बढी घर डुबानमा परेको हो । यसैगरी, बर्दगोरिया गाउँपालिका र टीकापुर नगरपालिकामा पनि डुबान भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

सो कार्यालयका अनुसार भजनी नगरपालिकामा मात्रै १२० भन्दा बढी घर डुबानमा परेको छ । सो नगरको वडा नम्बर ५ स्थित जबलपुर गाउँका ५०/६० घर डुबानमा परी जोखिम बढेपछि घरमा बसेका सबै मान्छेलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए । उनीहरुलाई नजिकको सुरक्षित स्थानमा सारिएको उनले बताए ।

यसैगरी, भजनी नगरपालिका–२ र ३ स्थित मोहनपुर, ढुसी र काँढा गाउँमा काँढा नदीको बाढी पसेर करिब ६० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

यस्तै, जोशीपुर गाउँपालिका–३ स्थित फरिया गाउँमा काँढा नदीको बाढी पसेर २५ घर र वडा नम्बर ४ स्थित झबही गाउँको खैरेनी टोलमा पथरैया नदीको बाढी पसेर सात घर डुबानमा परेको छ । वडा नम्बर ५ बनकट्टामा पनि केही घर डुबानमा परेको छ ।

अविरल वर्षाका कारण जिल्लास्थित कर्णाली, मोहना, पथरैया, काँढा, कान्द्रा, घुरहा, खुटिया, कटैनी लगायतका सबै नदी र खोलानालामा बाढी आइ पानीको बहाव उच्च भएको छ । जिल्लाको सबैभन्दा ठूलो कर्णाली नदीमा पानीको सतह ९.६० मिटर पुगेको छ । यो सतर्कताको नजिक हो । कर्णालीमा पानीको सतह १० भएमा सतर्कता अपनाउन आवश्यक हुने गरेको ‘गेज रिडर’ पार्वती गुरुङले बताइन् । यसैगरी, कर्णालीमा पानीको सतह ११ मिटर पुग्नु खतराको सङ्केत मानिन्छ ।

यसैगरी, वर्षाको पानी जमेर धनगढी उपमहानगरपालिका–३ को मिलनचौक, बोराडाँडी क्षेत्रमा डुबान भएको छ । यस्तै, पार्कचौकमा पनि पानी जमेको छ ।