मिथिलाञ्चलमा मनाइँदै जुडशितल पर्व
काठमाडौं - मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदैछ । प्रकृति र स्वास्थ्यसँग सम्बन्धित जुडशीतल पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई सिरूवा पर्व भनेर मनाउने गरेका छन् ।
जुडशितलमा जेठाले आफूभन्दा सानाको टाउकोमा हत्केलामा पानी लिई आशीर्वाद सूचक भावले शीतलता प्रदान होस् भनेर जलले आशिष दिने गर्छन् । यस क्रममा एकाबिहानै उठेर आफ्ना परिवार र सामूहिकरूपले आफन्तलाई आशीर्वाद दिने चलन रहेको छ ।
यस पर्वमा शीतलताको कामना सूर्यको कडा तापविरूद्ध हुन्छ । वैशाखदेखि सूर्यको ताप वृद्धि हुने गरेका कारण यस पर्वमा मानवमात्रको कल्याण नभई रूख, बिरुवाका लागि पनि शीतलताको कामना गरिन्छ । यसका साथै घरका दैलामा तथा घरको बीचमा रहेको खम्बालाई पनि जुराउने गरिन्छ । त्यस्तै पशुपक्षी, लतावृक्ष, बोटबिरुवाका साथै घर–गृहस्थीका सबै वस्तु सन्दुक, आलमारी, बाकस, पलङ, कुर्सी, टेबुल, कुचो, जाँतो, ढिकी ओखल, मुसल, सिलौटा, लोढा, सवारी साधनमाथि पानी जुराउने गरिन्छ । त्यस्तै यस पर्वमा गाउँका इनार तथा कुवाको जीर्णेद्धार पनि गरिन्छ ।
यसमा जीउभरि हिलो दल्ने परम्परा पनि रहेको छ । वस्तुतः दुवै पर्वको उद्देश्य सूर्यको तापबाट आकुलव्याकुल मानवलाई शीतलता प्रदान गर्नु रहेको छ । जुडशीतलमा रहेका दुई पद ‘जुड’ र ‘शीतल’ कल्याणसँग सम्बन्धित रहेको मिथिला संस्कृतिका जानकार नित्यानन्द मण्डलले बताए ।
जुडले आशीर्वादको भावमा जुराउनु र शीतलले शीतलताको अर्थ दिन्छ अर्थात् शीतलता प्रदान गर्नु नै जुडशीतल रहेको उनको भनाइ छ । पर्वको अवसरमा सरकारले झापा, मोरङ, सुनसरी, सिरहा लगायत तराई मधेशका जिल्लामा सार्वजनिक विदा दिएको छ ।
फेसबुक पेज Like गर्नुहोस