काठमाडौं - संवैधानिक आयोगहरुमा नियुक्तिको विरोध गर्दै नेकपा प्रचण्ड–माधव पक्षले आज आम हड्ताल गर्ने घोषणा गरेको छ ।

सरकारको सिफारिसमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायत संवैधानिक आयोगका पदाधिकारीहरुलाई शपथ खुवाएको थियो ।

आयोगहरूमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाइबिना नै पद तथा गोपनीयताको शपथग्रहण गराइएको भन्दै त्यसकै विरोधमा आमहड्ताल घोषणा गरिएको हो ।

हड्तालका क्रममा अत्यावश्यक सेवा, परीक्षामा अवरोध नगर्ने नेकपा केन्द्रिय संघर्ष समितिले जनाएको छ । परीक्षा दिन जाने विद्यार्थीले प्रवेशपत्र देखाएर सवारी साधन ल्याउन पाउने बताइएको छ ।

यसैबीच, गृह मन्त्रालयले पूर्ववत् रुपमै सार्वजनिक यातायातलगायत आ–आफ्नो उद्योगधन्दा, पेशा, व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ ।

मन्त्रालयले आमहडतालका क्रममा शान्ति सुरक्षामा खलल पुग्ने सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, आम सर्वसाधारण नागरिकले प्रयोग गर्ने सार्वजनिक यातायात सञ्चालनमा अवरोधलगायत ध्वंशात्मक एवं अवाञ्छिनीय गतिविधि नगर्न नगराउन सबैमा अनुरोध गरेको छ ।

शान्ति सुरक्षामा खलल पुग्नेगरी तोडफोड, आगजनी र जबर्जस्तीलगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्न हुने उपर कानूनबमोजिम कारवाही हुने समेत गृहले जनाएको छ ।