काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की आगामी निर्वाचनको तयारी र शान्तिसुरक्षा व्यवस्थाबारे जानकारी लिन ताप्लेजुङ पुगेकी छन् । आज बिहानै प्रधानमन्त्री कार्कीले पाथीभरा माताको पूजाअर्चना गरेकी छन् । पूजाअर्चनापछि उनले सामाजिक सञ्जालमार्फत लेखेकी छन्- 'फागुन महिना, निर्वाचन महिना। पाथीभराबाट सुरुआत। शान्तिपूर्ण निर्वाचनका लागि कामना गरेकी छु ।' प्रधानमन्त्री कार्कीले जिल्लास्थित सुरक्षा निकायका प्रमुख, मुख्य निर्वाचन अधिकृत, र निर्वाचनमा खटिएका अधिकारीहरूसँग भेट गरी आगामी निर्वाचनको तयारीको समीक्षा गर्ने कार्यक्रम रहेको छ ।

बिहीबार प्रतिनिधिसभा निर्वाचनका लागि हिमाली जिल्लाको वस्तुस्थिति बुझ्न प्रधानमन्त्री कार्की हेलिकोप्टरमार्फत प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ र प्रेस सल्लाहकार रामबहादुर रावलका साथमा सोलुखुम्बु पुगेकी थिइन् ।  जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौला, प्रमुख जिल्ला अधिकारी लीला केसी पाण्डे, मुख्य निर्वाचन अधिकृत चन्द्रकुमार पोखरेल, प्रहरी नायब उपरीक्षक मनोजित कुँवरलगायतले निर्वाचन तयारी र जिल्लाको अवस्थाबारे जानकारी दिएका थिए।