काठमाडौं - आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगले सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै सुरुदेखिनै सेना परिचालन गर्न सरकारलाई औपचारिक सिफारिस गर्ने तयारी गरेको छ ।

शुक्रबार आयोगका पदाधिकारी र तीनैवटा सुरक्षा निकायका उच्च अधिकारीबीच भएको समन्वय बैठकमा मतदाता, राजनीतिक दल र कर्मचारीलाई सुरक्षाप्रति आत्मविश्वास दिलाउन एकीकृत सुरक्षा योजना तुरुन्त कार्यान्वयन गर्नुपर्ने साझा धारणा बनेको हो । यसअघि जस्तै अन्तिम साता होइन, मतदानको सुरुवातदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई एकीकृत रूपमा परिचालन गर्नुपर्ने आयोगको निष्कर्ष रहेको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बैठकमा भने, ‘मतदानपूर्व, मतदानको अवधिभर र मतदानपछि पनि सबै सुरक्षा निकायबीच नजिकको समन्वय आवश्यक छ । निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सुरक्षालाई नै पहिलो प्राथमिकतामा राख्नुपर्छ।’

उनका अनुसार आयोगले नीतिगत र व्यवस्थापकीय स्तरबाट आवश्यक सबै सहजीकरण गर्न तयार रहेको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले पनि सुरक्षा निकायहरूले स्वच्छ र निष्पक्ष निर्वाचनका लागि योजनाबद्ध कार्य आरम्भ गरिसकेको जानकारी दिए ।