काठमाडौं - काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा गर्ने तयारी भएको छ । यसअघि जारी भएको निषेधाज्ञा भोलि मध्यरातबाट सकिँदै छ ।

निषेधाज्ञाबारे समीक्षा र निर्णय गर्न आजै काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे र ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टसहितको सुरक्षा समितिको बैठक बस्दै छ ।

बैठकमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख उपस्थित हुनेछन् ।

एक हप्ता लामो निषेधाज्ञाको सकिन लागेको बेला अब थप निषेधाज्ञा गर्ने विषयमा छलफल हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।

जिल्ला सुरक्षा समितिको बैठकले यसअघि भदौ ३ बाट लागु हुने गरी एक साताका लागि संक्रामक रोग ऐन- ०२० को दफा २ र स्थानीय प्रशासन ऐन-०२८ को दफा ६ (३) अनुसार निषेधाज्ञा जारी गरेको थियो ।