कांग्रेसले विद्रोही उम्मेदवारको सदस्यता नविकरण नगर्ने
काठमाडौं - नेपाली कांग्रेसले १४औं महाधिवेशनका लागि कुनै पनि चुनावमा विद्रोही रहेका उम्मेदवारको सदस्यता नविकरण नगर्ने भएको छ ।
कांग्रेसले १६–१९ भदौमा काठमाडौंमा १४औं महाधिवेशनका लागि आठ लाख सदस्यको केन्द्रले उपलब्ध गराएको सफ्टवेयरमा ‘इन्ट्री’ भइसकेको छ।
जसमा तीन लाख ८० हजार पुराना सदस्य छन्। बाँकी चार लाख २० हजार नयाँ सदस्य रहेका छन्। ढिलाइ भएका केही जिल्लाबाट सदस्यता ‘इन्ट्री’ गर्ने काम भइरहेको कांग्रेसले जनाएको छ ।
धेरै जनाको सदस्यता नविकरण हुन बाँकी रहेकाले त्यसका लागि कांग्रेसले ९ असारसम्मको म्याद थपेको छ । छुटेका सदस्यहरूले प्रदेश, जिल्ला, क्षेत्र, नगर र गाउँ समितिलाई निर्देशन दिएको छ। यससँगै नविकरण छुटेका व्यक्तिले सिधै केन्द्रीय सदस्यता छानविन समितिमा पनि पठाउन सक्नेछन्।
तर, त्यसका लागि केही सर्त राखिएको छ। कुनै पनि तहको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध विद्रोही उम्मेदवार बनेका व्यक्तिको भने सदस्यता नविकरण नगरिने भएको हो ।
त्यस्तै, विद्रोही उम्मेदवारको समर्थन र प्रस्तावकको पनि सदस्यता नविकरण नगरिने भएको छ। यससँगै पार्टीको अनुशासनको कारबाहीमा परेका व्यक्तिको पनि सदस्यता नविकरण नगरिने भएको छ ।
१३ साउनमा गाउँ तथा नगरको वडा अधिवेशन तोकिएको छ भने १६ साउनमा गाउँ तथा नगर अधिवेशन हुने भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस