काठमाडौं - सर्वोच्च अदालतका १४ न्यायाधीशको बैठक सकिएको छ। फुलकोर्ट बहिस्कार गरेर अलग्गै छलफलमा जुटेका उनीहरुको बैठक सकिएको हो।

अदालतको फुलकोर्ट बैठकमा पनि सहभागी नभई छुट्टै छलफलमा बसेका न्यायाधीशरुको बैठकले भोलि साढे ११ बजे प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरासँग सामुहिक रुपमा भेटेर आवश्यक परामर्श गर्ने निर्णय भएको एक न्यायाधीशले बताए।

कार्यपालिकामा भाग खोज्ने प्रधानन्यायाधीशको शैलीप्रति असन्तुष्टि जनाउँदै सर्वोच्च अदालतका १४ जना न्यायाधीशले पूर्ण बैठकमा नजाने निर्णय गरेका थिए । मन्त्रिपरिषद्‍मा भागवण्डा लिएको, पेसी प्रणाली परिवर्तन अस्वीकार गरेको आरोप जबरामाथि छ। स्रोतका अनुसार असन्तुष्ट न्यायाधीशहरु सोमबार बिहानैदेखि छलफलमा जुटेका थिए।

सर्वोच्च अदालतका न्यायाधीशहरुको गुटका बैठकले गर्दा सर्वसाधारणका मुद्दा प्रभावित भएका छन्। आज दशवटा इजलास तोकिएकामा कुनै पनि इजलसमा मुद्दामाथि सुनुवाई भएको छैन ।