काठमाडौं - नवनियुक्त परराष्ट्रमन्त्री नारायण खड्काले आफ्नो अमेरिका भ्रमणमा अमेरिकी सहयोग परियोजना (एमसीसी) प्राथमिकतामा नरहने बताएका छन् । बुधबार दिउँसो सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले सो कुरा बताएका हुन् ।

परराष्ट्रमन्त्री खड्का आज साँझ नै संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्यूयोर्क जाँदैछन् । तर, भ्रमणमा एमसीसी प्राथमिकतामा नपरेको उनको भनाई छ । उनले भने, ‘राष्ट्रसंघ महासभामा भाग लिन जान लागेको हुँ, एमसीसी प्राथमिकता लिस्टमा छैन ।’

मन्त्री खड्काले एमसीसी र बीआरआईलगायतका विषयमा भने थप अध्ययन गरेर तथ्यगत र मिथ्यागत विषयहरुलाई समेत ध्यानमा राखेर नेपालको हितमा हुने गरी सबै राष्ट्रहरुसँग घनिष्ठ र सन्तुलित सम्बन्ध कायम गर्ने गरी अघि बढ्ने बताए ।

उनले राष्ट्रसंघ महासभामा भाग लिनुका साथै साइडलाइन मिटिङका क्रममा सार्क देशका परराष्ट्रमन्त्रीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

त्यस्तै, मन्त्री खड्काले आफ्नो कार्यकालमा चीन र भारतसँग सन्तुलित सम्बन्ध हुने बताएका छन् । उनले परराष्ट्र नीति दल विशेषको नभएर सबैसँगको सहमतिमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।