काठमाडौं - कोरोना संक्रमणबाट महोत्तरीमा थप दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको मनरासिस्वा नगरपालिका-५ का ७५ वर्षीय पुरूष र बलबा नगरपालिका-३ का ७७ वर्षीय कोरोना संक्रमित पुरूष रहेका छन् ।

७५ वर्षीय पुरूषको आज जिल्ला अस्पताल जलेश्वर ल्याउने क्रममा मृत्यु भएको हो । केही दिनअघि चितवनको क्यान्सर अस्पतालमा उपचार गरेर फर्किएका ती वृद्धलाई कोरोना संक्रमण पुष्टि भएको थियो । रिपोर्ट पोजेटिभ आएपछि उनलाई आइसोलेसनमा भर्ना गर्नका लागि जलेश्वर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।

यस्तै, ७७ वर्षीय कोरोना संक्रमित पुरूषको भने जनकपुरधामको प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । निमोनियाबाट ग्रसित ती वृद्धलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । योसँगै महोत्तरीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ।