दाउन्नेमा बस दुर्घटना: ४ जनाको मृत्यु, ४९ घाइते
काठमाडौं - पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्ने सडकखण्डमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीको अनुसार काठमाडौंबाट रुकुमका लागि छुटेको ना ५ ख २७१३ नम्बरको बस बर्दघाट खुर्सानीखोला नजिकै बिहान दुर्घटना भएको हो । दुर्घटनामा बसका चार जना यात्रुको घटनास्थलमा नै मृत्यु हुनुका साथै ४९ जना यात्रु घाइते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा रुकुम पश्चिम सिस्ने गाउँपालिका ७ का ३६ वर्षका धनराज घर्ती र कल्पना पुन रहेका छन् । अन्य दुई जनाको भने सनाखत हुन सकेको छैन । घाइते मध्ये ४२ जनाको बर्दघाट नगरपालिका ४ चिसापानी अस्पतालमा उपचार भइरहेको छ भने पाँच जनाको बर्दघाटकै सञ्जीवनी क्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बसमा सवार पाँच जना सकुशल रहेका छन् ।
फेसबुक पेज Like गर्नुहोस