काठमाडौं - काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा अहिले वर्षा भइरहेको छ । 

आइतवार देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसुनी न्युन चापीय रेखा नेपालको तराई भूभाग देखि केही दक्षिणतिर अवस्थित छ। 

आज दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती प्रदेश, गण्डकी  प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा साथै प्रदेश १ र प्रदेश २ का एक/दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

यस्तै आइतवार राति देशभर पूर्ण बदली रही धेरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी  प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका केही स्थानहरुमा साथै कर्णाली प्रदेशका थोरै स्थानहरुमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।

सतर्कता अपनाउन आह्वान

देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी प्रदेश, कर्णाली प्रदेशका थोरै  स्थानहरुमा र  प्रदेश १, बागमती प्रदेश, गण्डकी  प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदुरपश्चिम एक/दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना भएकोले  सतर्कता अपनाउन विभागले आह्वान गरेको छ । 

यस्तै  पछिल्लो ३ घण्टामा परासी, बर्दघाट, डण्डा बजार र नवलपरासीको धेरै स्थानमा भारी वर्षा मापन भएको विभागले जनाएको छ । थप वर्षा हुन सक्ने,आरूणखोला, गिरूवारी खोला र नवलपरासीको साना नदी तटीय क्षेत्रमा एक्कासी बाढी आउन सक्ने भएकाले थप सतर्कता अपनाउन विभागले अपिल गरेको छ ।