एजेन्सी - विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ का प्रमुख डा. टेड्रोस अधानोम घेब्रेसेयसले तत्काल लकडाउन नहटाउन आग्रह गरेका छन् । यो भाइरस छोटो समयमै नियन्त्रणमा नआउने भएको कारण लकडाउन नहटाउन घेब्रेसेयसले आग्रह गरेका हुन् ।

अफ्रिका, पूर्वी युरो, मध्य अमेरिका र दक्षिण अमेरिकामा कोभिड–१९ को संक्रमितको संख्या बढेकोमा पनि उनले चिन्ता व्यक्त गरेका हुन् । चाँडै लकडाउन हटाए, भाइरसको संक्रमण पुनः सक्रिय हुने उनको भनाइ थियो ।

'पश्चिमी युरोपमा महामारी स्थिर वा घट्दो क्रममा रहेपनि धेरै राष्ट्रहरुमा यो सुरुवाती चरणमा रहेको छन्' बुधबार पत्रकार सम्मेलनमा बोल्दै डा. टेड्रोसले भने ‘महामारीको सुरुवातमा नै प्रभावित बनेका देशहरुमा पनि पुनः संक्रमितको संख्या बढ्दो छ, गल्ती नगरौँ, हामी अझै लामो बाटो जानु छ, यो भाइरस हामीसँग लामो समय रहनेछ ।’

उनले थपे, ‘लकडाउन र सामाजिक दुरी कायम गर्ने उपायले संक्रमणको दर धेरै देशमा कम गरेको छ । तर, भाइरस अझै पनि खतराको रुपमा कायम छ । संक्रमण पुनः फैलिन सक्छ । अहिलेको सबैभन्दा ठूलो खतरा भनेको हामी लापरवाह हुनसक्ने हो ।’