आयोगद्वारा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ता गर्न आह्वान
काठमाडौं - निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ। आयोगले बिहिबार एक सूचना प्रकाशित गर्दै आगामी माघ १२ गते हुने निर्वाचन प्रयोजनका लागि आजदेखि पुस १० सम्म आयोगमा निवेदन दिएर दल दर्ता गर्न आह्वान गरेको हो।
राष्ट्रियसभाका २० सदस्यको पदावधि आगामी फागुन २० मा सकिँदै छ। रिक्त हुने पदमा एक मनोनितबाहेकका १९ पदका लागि ३५ दिनअगावै निर्वाचन गरेर पदपूर्ति गर्नुपर्ने व्यवस्था छ। नेकपा एमालेका ८, नेकपा (एकीकृत समाजवादी)का चार, नेकपा माओवादी केन्द्रका ४ र नेपाली कांग्रेसका ३ सदस्यको पनि फागुन २१ कार्यकाल समाप्त हुँदैछ।
माथिल्लो सदनका रूपमा रहेको ५९ सदस्यीय राष्ट्रियसभा सदस्यको पदावधि ६ वर्षको हुन्छ। राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख मतदाता हुन्छन्।
फेसबुक पेज Like गर्नुहोस