काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय शृंखलामा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । 

आइतबार अल अमिरात क्रिकेट मैदानमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । नेपालले पहिला बलिङ रोजेसँगै ओमान अब ब्याटिङमा उत्रनेछ । नेपालले दोस्रो पटक घरेलु टोलीको सामना गर्न लागेको हो । 

यसअघि ओमानसँग पराजित भएको नेपाल बदला लिने योजनासहित मैदान उत्रने छ । ओमान भने नेपालविरुद्ध लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ । पहिलो भेटमा नेपाल ओमानसँग ५ विकेटले पराजित भएको थियो ।

लिग २ शृंखलाको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा ओमानसँग पराजित नेपाल शुक्रबारसमेत अमेरिकासँग ६ विकेटले पराजित भएको थियो । लिग २ मा नेपाल ७ खेलमा ६ अंक जोडेर छैटौं स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ । 

साथै, आजकाे खेलमा टाेलीमा २ खेलाडी परिवर्तन गरिएकाे छ । यसअघि खराब प्रदर्शन गरेका कुशल मल्ल र गुलशन झालाई बेन्चमा राखेर नेपालले अनुभवी ब्याट्सम्यान शरद भेषावकर र आरिफ शेखलाई मौका दिएकाे हाे ।

नेपालको प्लेइङ-११  

ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, रोहित कुमार पौडेल, शरद भेषावकर, सोमपाल कामी, आरिफ शेख, करण केसी, विनोद भण्डारी(विकेटकिपर), सन्दीप लामिछाने र सुशान भारी ।