काठमाडौं - इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत चेल्सीले जित निकालेको छ ।

शनिबार राति भएको खेलमा चेल्सीले लिड्स युनाईटेडलाई ३-२ गोल अन्तरले पराजित गरेको हो । चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा २८ औं मिनेटमा राफिन्हाले गोल गर्दै लिड्सलाई सुरुवाती अग्रता दिलाएका थिए ।

४२ औं मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीलाई १-१ गोलको बराबरीमा ल्याए । खेलको ५८ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीलाई २-१ को अग्रता दिलाए ।

खेलको ८३ औं मिनेटमा जोसेप गेल्हार्डले गोल गर्दै लिड्सलाई २-२ को स्थितिमा ल्याए  । खेल सकिनै लाग्दा इन्जुरीमा जोर्गिन्होले पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ३-२ को जित दिलाए ।

जितसँगै चेल्सी १६ खेलमा ३६ अंक जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ । लिड्स १६ अंकसहित १५ औं स्थानमा रहेको छ ।

 शनिबार नै भएको अर्काे खेलमा लिभरपुलले एस्टन भिल्लालाई १-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन मोहमद सलाहले निर्णायक गोल गरे ।

सलाहले खेलको ६७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।  यस जितसँगै लिभरपुल १६ खेलमा ३७ अंकसहित लिगको दोस्रो स्थानमा रहेको छ । एस्टन १९ अंकसहित १२ औं स्थानमा रहेको छ ।

शनिबार राति नै भएको खेलमा आर्सनलले साउथह्याम्पटनलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।  घरेलु मैदानमा खेलको २१ औं मिनेटमा अलेक्जेन्डर लाकाजेट्टले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए। मार्टिन ओडेगार्डले २७ औं मिनेटमा गोल गर्दै आर्सनलको अग्रता दोब्बर पारे । 

त्यसपछि खेलको ६२ औं मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनललाई ३-० को जित दिलाए । यस जितसँगै आर्सनल १६ खेलमा २६ अंकसहित छैटौं स्थानमा उक्लिएको छ । साउथह्याम्पटन १६ अंकसहित १६ औं स्थानमा रहेको छ ।