भारतमा २४ घण्टाभित्र करिब ३९ हजार कोरोना संक्रमित, ५४३ जनाको मृत्यु
नयाँ दिल्ली - भारतमा पछिल्लाे २४ घण्टामा अहिलेसम्मकै धेरै ३८ हजार ९०२ व्यक्तिमा कोरोना पुष्टि भएको संघीय स्वास्थ्य मन्त्रालय तथा परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी गराएको छ । योसँगै भारतमा कोरोना संक्रमितको कूल संख्या १० लाख ७७ हजार ६१८ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
पछिल्लाे २४ घण्टामा कोभिड–१९ सङ्क्रमित ५४३ विरामीको मृत्यु भएसँगै यो महामारीका कारण भारतमा मृत्यु हुनेको संख्या २६ हजार ८१६ पुगेको मन्त्रालयले पुष्टि गरेको छ ।
भारतमा आइतबारसम्म निकोभई घर फर्किने कोभिड–१९ संक्रमित विरामीको संख्या ६ लाख ७७ हजार ४२३ पुगेको छ भने अझै तीन लाख ७३ हजार ३७९ व्यक्ति संक्रमित रहेका छन् । सबैभन्दा बढी प्रभावित भारतीय राज्य महाराष्ट्रमा शनिबारसम्म तीन लाख ९३७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) का अनुसार जुलाई १८ सम्म भारतमा कोभिड–१९ संक्रमण परीक्षणका लागि एक करोड ३४ लाख ३३ हजार ७४२ नमूना परीक्षण गरिएको छ भने यसमध्ये शनिबार तीन लाख ६१ हजार २४ व्यक्तिको कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस