पैदल घर फर्किरहेका मजदूरलाई रेलले कुल्चिदा १६ जनाको मृत्यु
काठमाडौं - कोरोनाभाइरस संक्रमण रोक्नका लागि भारतमा लगाइएको लकडाउनका कारण मजदूरहरू विभिन्न समस्यामा परेका छन् । काम गर्न नपाएपछि उनीहरू पैदलै घर फर्किरहेका छन् ।
यसैगरी घर फर्किरहेका १६ मजदूरलाई रेलले कुल्चिएपछि उनीहरूको मृत्यु भएको छ । महाराष्ट्रको औरंगाबादमा रहेको बदनापुर–करमाड रेलवे स्टेसन नजिक शुक्रवार बिहान एक मालवाहक रेलले मजदूरहरूलाई कुल्चेको हो । दुर्घटनामा १६ जनाको मृत्यु भयो भने अन्य केही घाइते भए ।
मारिएका मजदूरहरू मध्य प्रदेश निवासी भएको अनि महाराष्ट्रको जालनामा एसआरजी कम्पनीमा काम गर्ने गरेको भारतीय रेलवेले प्रेस वक्तव्य जारी गरेर जनायो । सबै मजदूर जालनाबाट मंगलवार हिँडेका थिए । पहिला सडकमा हिँडेका उनीहरू औरंगाबाददेखि रेलवे ट्य्राकमा हिँड्न थाले ।
लगभग १६ किलोमिटर पैदल हिँडेपछि सबै मजदूर थाके अनि ट्य्राक नजिकै आराम गर्न बसे । केही चाहिँ त्यहीँ सुते । ट्य्राकमा सुत्न् १६ जना मारिए ।
मार्च २४ मा लकडाउन घोषणा गरिँदा लाखौं मजदूर फसेका थिए । उनीहरूले सयौं किलोमिटर पर रहेको घर पैदलै हिँड्न बाध्य हुनुपरेको थियो । केही दिनयता केन्द्र सरकारले बस तथा ट्रेनको व्यवस्था पनि गरिरहेको छ तर मजदूरको संख्या धेरै हुनाले पालो आउन नै निकै समय लाग्ने गरेको छ ।
यस दुर्घटनापछि रेल मन्त्रालयले छानबीनको आदेश दिएको छ । मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले सबै मृतकको परिवारलाई ५–५ लाख भारु दिने घोषणा गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस