काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम ठगी आरोपमा पक्राउ पुर्जी जारी भएपछि फरार रहेका एमाले सचिव टोपबहादुर रायमाझी आफ्नो सम्पर्कमा नरहेको दाबी गरेका छन् ।

शनिबार सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीबीच छलफल भएको छ । प्रधानमन्त्री दाहाललाई भेट्न अध्यक्ष ओली सिंहदरबार पुगेका थिए ।

प्रधानमन्त्री दाहालसँगको छलफलपछि पत्रकारले सोधेको प्रश्नमा अध्यक्ष ओलीले रायमाझी आफ्नो सम्पर्कमा नभएको दाबी गरेका हुन् ।

‘पूर्वमन्त्री, उपप्रधानमन्त्री भइसकेको मान्छे त्यसरी हराउँछन् र भन्नुभएको थियो, अहिले त हराइराखेका छन् ? कहाँ बस्नुभएको छ उहाँ ?,’ ओलीलाई पत्रकारले प्रश्न गरेका थिए । पत्रकारको प्रश्नमा ओलीले भने, ‘तपाईंहरुले खोज्नुस् न, मेरो सम्पर्कमा हुनुहुन्न ।’

यस्तै अभियुक्तलाई बचाउन लागेको आरोप छ भन्ने प्रश्नमा ओलीले केही मान्छेहरूले त्यस्ता खालका हल्ला फैलाउने काम गरेको आरोप लगाए ।

ओलीले भने, ‘तपाईंहरूलाई विश्वास लाग्यो त्यस्तो कुरा ? केही यस्ता खालका मान्छेहरू छन्, बेइमानीमा भरपर्ने, त्यस्ताहरूले हल्ला चलाउँछन् ।’ नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौँ रकम ठगी गरेको प्रकरणमा प्रहरीले उनीविरूद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।

प्रहरीले यस घटनामा ९ जनालाई पक्राउ गरिसकेको छ । सोही आरोपमा प्रहरीले टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई समेत पक्राउ गरिसकेको छ ।