देविदेवताका शक्तिपिठहरू १ कात्तिकदेखि खोल्ने तयारी
काठमाडौ - कोभिड संक्रमणको जोखिमका कारण बन्द रहेका सबै देविदेवताका शक्तिपिठहरू १ कात्तिकदेखि खोल्ने तयारी शुरू भएको छ। काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, वंगलामुखी, मैतिदेवि, भाटभटेनी आकाशेदेवि लगायतका शक्तिपिठहरू १ कात्तिकदेखि खोल्ने तयारी भएको हो।
दशैंको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपिठहरू खोल्नुपर्ने बाध्यता रहेको मन्दिरव्यवस्थापकहरू बताउँछन्। मैतिदेवि मन्दिर क्षेत्र प्रबन्ध समितिका सचिव राजाराम कपालीले दशैंको बेला विशेष पूजाआजा हुने भएकाले मन्दिर खुला गर्नुपर्ने बाध्यता भएको बताए।
विभिन्न गुठियारहरूको विशेष पूजा हुने र जात्रा समेत निकाल्नुपर्ने प्रचलन रहेकाले पनि पूजाका लागि खुल्ला गरिनुपर्ने उनको भनाइ छ। तर सरकारबाट अहिलेसम्म कुनै निर्णय आइनसकेको उनले बताए। तरपनि स्थानीय भक्तजनहरूकोआग्रहमा १ कात्तिकदेखि धेरै भीड नहुने गरी भक्तालुका लागि खुल्ला गरिने बताए। गुठियारहरूसँग पनि जात्रा ननिकाल्ने तर विशेष पूजाआजा गर्ने सहमति भइसकेको उनले बताए।
कोभिड १९ संक्रमणको जोखिम भएसँगै सरकारले कुनैपनि मन्दिर क्षेत्रमा भक्तालुलका लागि पूजाआजा रोक्ने निर्णय गरेको थियो। यससँगै काठमाडौं उपत्यकाका मूख्य शक्तिपिठहरूमा समेत नियमित पूजाआजा बाहेकका सबै गतिविधि बन्द गरिएको छ।
अन्यक्षेत्रलाई खुल्ला गरिएपनि मन्दिरमा धेरै भीड हुने भएकाले सरकारले अहिलेसम्म मन्दिरलाई खुल्ला गर्ने निर्णय गरिसकेको छैन्। तर अधिकांश मन्दिरहरू १ कात्तिकदेखि सीमितरूपमा भएपनि खुल्ला गर्ने तयारीमा जुटेका छन्।

.gif)



फेसबुक पेज Like गर्नुहोस