काठमाडौं - हिजोदेखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको अवस्थामा जहाज फेला परेको छ ।

हिजो बिहान पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको नाइन एन एईटी कल साइन भएको ट्वीनअटर जहाज सम्पर्कविहीन भएको थियो । सो जहाजमा चालक दलका ३ सदस्यसहित २२ जना सवार थिए ।

हिजो दिनभर खोजी गरिए पनि नभेटिएपछि स्थगित गरिएको थियो । आज बिहान ५ बजेदेखि फेरि हवाई र स्थल दुवै तर्फबाट खोजी सुरु गरिएको थियो ।