काठमाडौं - प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन आगामी निर्वाचनको सफलताका लागि सबैको योगदान आवश्यक रहेको बताएकी छन् । 

पूर्वी पहाडी जिल्ला भ्रमणका क्रममा ताप्लेजुङको पाथीभरा मन्दिरमा स्थानीयसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री कार्कीले शान्तिपूर्ण र निष्पक्ष निर्वाचन सफल बनाउन सबैको योगदान आवश्यक रहेको बताएकी हुन् ।

उनले निर्वाचन प्रक्रियामा शान्ति, सुरक्षा र जनसहभागितालाई विशेष प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै राजनीतिक दल, प्रशासन र नागरिक समाजबिच सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गरिन् ।

त्यसअघि प्रधानमन्त्री कार्कीले फुङ्लिङमा मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका जिल्ला प्रमुखसँग भेट गरी निर्वाचनको तयारी र सुरक्षा व्यवस्थाबारे छलफल गरेकी थिइन् । 

उनका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार बैठकमा मतदान केन्द्रको व्यवस्थापन, सुरक्षा चुनौती र समन्वयका विषयमा समीक्षा गरिएको थियो ।

भ्रमणकै क्रममा प्रधानमन्त्री कार्कीले पाथीभरा मन्दिरमा दर्शन गरेकी थिइन् ।