काठमाडौं - दिवंगत बलिउड अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम फिल्म ‘दिल बेचारा’ ले नयाँ रेकर्ड कायम गरेको छ ।

शुक्रबार साँझ डिजिटल प्लेटफर्ममा रिलिज भएको चलचित्र 'दिल बेचारा'ले २४ घन्टा भन्दा कम समयमा सबैभन्दा बढी भ्यूज भएर नयाँ रेकर्ड राखेको हो । उक्त छोटो समयमा ७ करोड ५० लाख भन्दा बढीले 'दिल बेचारा' हेरेका थिए । यो चलचित्र ‘फल्ट इन आवर स्टार’ को हिन्दी रिमेक हो । जुन सन् २०१४ मा रिलिज भएको थियो ।

कास्टिङ डिरेक्टर मुकेश छाब्राको निर्देशनमा बनेको पहिलो फिल्ममा सुशान्त र सन्जना सान्घी मुख्य भुमिकामा छन् । यसबाहेक सैफ अली खान, स्वस्तिका मुखर्जी र जावेद जफरीको पनि महत्त्वपूर्ण भूमिका रहनेछ ।

यस्तै, यस चलचित्रको ट्रेलरले पनि छोटो समयमा धेरै लाइक्स पाउनेमा विश्व रेकर्ड बनाएको थियो । ‘दिल बेचारा’ को ट्रेलर युट्युबमा रिलिज भएको ९८ मिनेटभित्र १० लाख लाइक्स पाउने संसारको पहिलो भिडियो बनेर रेकर्ड कायम गरेको थियो । अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार यसअघि यो रेकर्ड कोरियन ब्यान्डको नाममा थियो ।