काठमाडौं,एजेन्सी - १६ औं संस्करणको युरोकप फुटबलमा इंग्ल्यान्ड समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

मंगलबार राति समूह चरणको अन्तिम खेलमा चेक रिपब्लिकलाई १-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्ड समूह विजेता बनेको हो । 

वेम्बली स्टेडियममा भएको खेलमा इंग्ल्यान्डलाई जित दिलाउन रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे ।

खेलको १२ औं मिनेटमा स्ट्रर्लिङले गोल गरेका हुन् । ज्याक ग्रेलिसको पासमा उनले गोल गरेका हुन् ।

यस जितसँगै समूह ‘डी’को इंग्ल्यान्डले अपराजित रहदै अन्तिम १६ मा स्थान बनाएको छ । शीर्ष स्थानमा रहेको इंग्ल्यान्डले ३ खेलमा ७ अंक जोड्यो ।

चेक रिपब्लिकले ३  खेलमा ४ अंक जोड्यो । चेक रिपब्लिक समूहको तेस्रो स्थानमा रह्यो । चेक रिपब्लिक पनि नकआउट चरणमा प्रवेश गरेको छ ।