काठमाडौं - प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण हिजो बस्न नसकेको नेकपाको बैठक आजका लागि बोलाइएको छ । सचिवालय सदस्य झलनाथ खनालका अनुसार बैठकका लागि विहीबार लामो समय कुरेपछि अन्तिम समयमा आएर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाका कारण बैठक बस्न नसकिने जानकारी आएपछि आज ३ बजे बैठक बस्ने निर्णय भएको छ ।

कतिपयले भने स्कूल विभागमा दुई अध्यक्षबीच कुराकानी नमिल्दा बैठक लम्बिएको बताइरहेका छन् । स्कुल विभागका लागि धेरै नेताहरु आकांक्षि भएपछि अध्यक्ष प्रचण्डले भने स्कुल विभाग अध्यक्षको मातहतमै राख्नेगरी प्रस्ताव गरेका छन् । तर, पूर्व एमाले नेताहरुले त्यसलाई स्वीकार गरेका छैनन् ।

नेता खनालले विवादका कारण नभई प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाकै कारण बैठक बस्न नसकेको बताए । तर, प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार विष्णु रिमालले भने राति अबेला ट्वीट गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था ठिक रहेको र आजदेखि प्रधानमन्त्री सक्रिय हुने बताएका छन् ।

उपचारबाट फर्किए लगत्तै प्रधानमन्त्रीलाई दौडधुप बढी भएको तर सञ्चार माध्यममा भनिएजस्तो जटिल समस्या नभएको रिमालको भनाइ छ ।