काठमाडौं - नर्सहरूको पेशागत सुरक्षा, सेवा–सुविधा तथा सम्मानजनक कार्य वातावरणको माग राख्दै आमरण अनशनमा बसेकी नर्स अभियन्ता ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएपछि अनशन अन्त्य भएको छ ।
मंगलबार राति सम्पन्न वार्तापछि दुवै पक्षबीच १९ बुँदे सहमतिमा हस्ताक्षर भएको हो। सहमतिसँगै अनशनरत रानाभाटलाई जुस खुवाएर आमरण अनशन तोडाइएको छ।
रानाभाटले साउन १४ गतेदेखि नर्सहरूको पेशागत सुरक्षा, उचित पारिश्रमिक र अधिकार सुनिश्चित गर्न माग राख्दै आमरण अनशन सुरु गरेकी थिइन्। गत वर्ष पनि यिनै विषयमा सरकारसँग सहमति भए पनि कार्यान्वयन नभएपछि नर्सहरू पुनः आन्दोलनमा उत्रिएका थिए।
सरकारका तर्फबाट अतिरिक्त सचिव श्रीकृष्ण श्रेष्ठ, मेडिकल सुपरिटेन्डेन्ट हेमन्तचन्द्र ओझा र कानुन अधिकृत जयप्रकाश सुवेदीले सहमतिपत्रमा हस्ताक्षर गरेका छन्। नर्सहरूको तर्फबाट ज्योति रानाभाटले हस्ताक्षर गरेकी हुन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डा। विकास देवकोटा, अतिरिक्त सचिव संगीता मिश्र, प्रमुख सल्लाहकार मनोहर प्रधान, प्रधानमन्त्री बालेन्द्र शाहकी स्वकीय सचिव प्रगति ढकाल तथा शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको रोहवरमा सहमति भएको हो।
सहमतिअनुसार सरकारी प्रतिष्ठान, निजी तथा सामुदायिक अस्पताल, मेडिकल कलेज र शिक्षण संस्थामा कार्यरत नर्स तथा मिडवाइफसहित स्वास्थ्यकर्मीहरूको पारिश्रमिक, सेवा–सुविधा र सम्मानजनक कार्य वातावरण निर्धारणका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सात दिनभित्र कार्यदल गठन गर्नेछ। उक्त कार्यदलले बढीमा छ महिनाभित्र प्रतिवेदन तयार गर्नेछ।
त्यसैगरी, छात्रवृत्तिमा अध्ययन गरेका नर्स तथा मिडवाइफहरूको योग्यता र विशेषज्ञताअनुसार तह, जिम्मेवारी, सेवा–सुविधा र नेतृत्वको अवसर सुनिश्चित गर्न सम्बन्धित निर्देशिका ३० दिनभित्र संशोधन गर्ने सहमति भएको छ।
सहायक नर्स–मिडवाइफ ९एएनएम०लाई प्रमाणपत्र तह नर्सिङ तथा मिडवाइफ्री अध्ययनका लागि छात्रवृत्ति सुनिश्चित गर्ने, आगामी शैक्षिक सत्रदेखि नर्सिङ कार्यक्रममा भर्नाका लागि प्रवेश परीक्षा अनिवार्य गर्ने तथा त्यसका लागि सम्बन्धित निकायलाई निर्देशन दिने विषय पनि सहमतिमा समेटिएको छ।

.gif)



