स्थानीय तहको चुनाव जेठ ४ गते हुन्छ : प्रधानमन्त्री देउवा
काठमाडौं - सत्ता गठबन्धन दल नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको चुनाव आउँदो जेठ ४ गते हुने बताएका छन् ।
सोमबार प्रधानमन्त्री देउवाले बागमति प्रदेशका सभापति इन्द्र बानियाँसहित बालुवाटारमा भेट्न पुगेका कांग्रेस नेताहरुसँगको कुराकानीका क्रममा जेठ ४ गतेका लागि चुनावको मिति केही दिनमै घोषणा हुने बताएका हुन्। चुनाव कहिले हुन्छ भनेर नेताहरुले राखेको जिज्ञासामा प्रधानमन्त्री देउवाले दिएको भनाइ उद्धृत गर्दै बानियाँले भने -‘चुनाव जेठ ४ गते हुन्छ। केही दिनमै मिति घोषणा गर्छु।’
२०७९ जेठको पहिलो हप्ता स्थानीय तहका पदाधिकारीहरुको पाँच वर्षे अवधि समाप्त हुनेछ । त्यसअघि नै चुनाव गर्नुपर्ने स्थानीय निर्वाचन ऐन २०७३ को प्रावधान अनुकुल हुने भएकाले उक्त मितिमा चुनाव गरिन लागेको हो। सत्तारुढ पाँच दलीय गठबन्धनमा स्थानीय तहको चुनाव आउँदो जेठ महिनामा गर्ने निर्णय भएपनि औपचारिक रुपमा मिति भने तोक्न सकेको छैनन् । प्रमुख प्रतिपक्ष नेकपा एमालेले चाँडाे चुनावको मिति घोषणा गर्न दबाब दिइरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस