काठमाडौं - भारतले नेपाली भूमि गुन्जी, कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपालीलाई प्रवेशमा रोक लगाउन पत्राचार गरेको छ ।

भारतले उक्त भूमि आफ्नो भएको दाबी गर्दै नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई आग्रह गरेको हो । ‘बिभिन्न नेपाली गुटः समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्, जसबाट मिडियाको ध्यान आकृष्ट गर्न सकियोस् र दुवै देशको प्रशासनलाई हैरान बनाउन सकियोस् । अतः यस प्रकारका कुनै सूचना तपाईहरुलाई प्राप्त भयो भने त्यसको जानकारी तत्काल दिने कष्ट गरिदिनु होला ।’ जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै भारतको धार्चुला प्रशासनले भनेको छ ।

केही समयअघि नेपालले कालापानी, लिम्पियाधुरा, गुन्जी, लिपुलेक लगायतका भूभाग समेटेर नयाँ नक्सा जारी गरेको थियो । ती भूभागलाई भारतले आफ्नो भनेर कब्जा गर्दै आएको छ । सशस्त्र प्रहरीलाई पनि भारतीय पक्षले गस्तीका क्रममा रोक र अवरोध गरेको छ ।