ऋषि कपूरको ६७ वर्षको उमेरमा निधन
काठमाडौं - बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ । उनको ६७ वर्षको उमेरमा निधन भएको हो । भारतीय सञ्चार माध्यम आजतकले यसबारे जानकारी दिएको हो । ऋषि कपुरको स्वास्थ्य बिग्रिएका कारण उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो ।
यो जानकारी उनका दाइ रणधीर कपुरले दिएका हुन् ।अमेरिकामा लगभग एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि ऋषि कपुर गत सेप्टेम्बरमा भारत फर्किएका थिए । यस वर्ष फेब्रुअरीमा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटक अस्पताल भर्ना गर्नु परेको थियो ।
उनको क्यान्सरको उपचारको चलिरहेको थियो । बलिउडका महानायक अभिताभ बच्चनले उनको मृत्युबारे लेखेका छन्, ‘म पूर्ण रुपमा टुटिसकेको छु ।’
६७ वर्षीय ऋषिको पछिल्लो पटक ‘द बडी’ रिलिज भएको थियो । ऋषि कपूरकी पत्नी नितू कपूर बलिउडकी अभिनेत्री हुन् । त्यस्तै छोरा रणबिर कपूर बलिउडका चर्चित अभिनेता हुन् भने छोरी रिद्दीमा कपूर सहनी फेसन डिजाइनर हुन् ।
सन् १९५२ मा जन्मिएका ऋषि पहिलो पटक ‘मेरो नाम जोकर’ (१९७०)मा बालकलाकारका रुपमा देखिएका थिए । उनका पिता राज कपूरले निर्देशन गरेको यही फिल्मबाट उनले नेसनल अवार्ड जिते । त्यसको तीन वर्षपछि उनको पहिलो लिड रोल भएको फिल्म सार्वजनिक भएको थियो, ‘बब्बी’ । यसबाट उनले उत्कृष्ट अभिनेताको फिल्मफेयर अवार्ड जिते ।
ऋषिले जीवनकालभर ९२ फिल्ममा रोमान्टिक रोल निर्वाह गरे । जसमध्ये ३६ फिल्म बक्स अफिसमा हिट भए । तर, ‘शर्माजीकी नम्किन’ को भने छायांकन अधुरै रहयो । उनको ‘खुल्लम खुल्ला : द ऋषि कपुर अन्सेन्सर्ड’ बायोग्राफी प्रकाशित छ ।
बुधबार मात्रै बलिउड फिल्मी जगतका अर्का एक हस्ती इरफान खानको क्यान्सरकै कारण निधन भएको थियो ।
फेसबुक पेज Like गर्नुहोस