एजेन्सी - भारतमा एक लाख जनाभन्दा बढी मानिसमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यो एशियामा सर्वाधिक संख्या हो । यसअघि चीनमा सर्वाधिक संक्रमित थिए । संक्रमितको संख्या एक लाख नाघ्ने भारत ११ औँ देश बनेको छ ।

राज्य सरकारहरूले कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्न लगाइएको लकडाउन केही खुकुलो बनाएको भोलिपल्ट संक्रमितको संख्या एक लाख भन्दा माथि पुगेको हो । जुन महिनामा भारतमा संक्रमितको संख्या सर्वाधिक हुने स्वास्थ्यकर्मीले अनुमान गरेका छन् ।

भारतको कोरोना भाइरस संक्रमितको कूल संख्या एक लाख ३ सय २८ पुगेको छ । भारतमा कूल संक्रमितमध्ये ३९ हजार २ सय ३३ जना निको भएका छन् । तीन हजार १ सय ५६ जनाको मृत्यु भएको छ । उपचाररत संक्रमितको संख्या ५७ हजार ९ सय ३९ छ ।

पछिल्लो तीन सातादेखि औसतमा दैनिक एक सय भन्दा बढीको मृत्यु भइरहेको छ । भारतको महाराष्ट्र कोरोनाबाट सबैभन्दा बढी प्रभावित छ । त्यसपछि गुजरात, तामिलनाडु, दिल्ली र राजस्थान बढी प्रभावित छन् ।