काठमाडौं - एसीसी प्रिमियर कप अन्तरगत तेस्रो स्थानको लागि भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको छ । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि नेपाल सेमिफाइनलमा यूएईसँग पराजित भएको थियो ।

नेपालले प्रस्तुत गरेको १ सय ४० रनको लक्ष्य हङकङले ६ विकेटको क्षतिमा पछ्यायो । हङकङका लागि अन्सुमन राथले सर्वाधिक ६५ रन बनाए ।नेपालका लागि सोमपालका कमीले ३ तथा दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो ।

नेपालका लागि फेरि एक पटक दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाए । उनले यस क्रममा ४ चौका र ३ छक्का हिर्काए । नेपालले खेलमा खराब सुरुवात गरेको थियो ।कुशल भुर्तेल फेरि एक पटक शून्य रनमा आउट भए । तेस्रो ओभरमा सोमपाल कामी १६ रन बनाएर आउट भए । लगत्तै ५ रन बनाएर आशिफ शेख पनि पभेलियन फर्किए ।

त्यसपछि कप्तान रोहित पौडेल र सन्दीप जोराले नेपालको इनिङ्स सम्हालने प्रयास गरेका थिए । जोराले २३ बलमा २२ रन बनाए भने कप्तान पौडेलले १९ बलमा २१ रन बनाए । कुशल मल्ल १३ रन बनाएर आउट हुँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । हङकङका आयुश शुक्लाले ३ तथा अतिक इक्बाल, यासिम मुर्तजा र इशान खानले १–१ विकेट लिए ।