काठमाडौं,एजेन्सी - सलमान खान स्टारर ‘टाइगर ३’मा इमरान हासमीलाई लिड भिलेनको रुपमा देख्न पाइने भएको छ ।

लभरब्वाइ तथा सिरियल किसरको छवि बनाएका हासमीले टाइगर फ्रेन्चाइजमा भने सलमानसँग कट्रिना क्याफका लागि लडाइ लड्नेछन् ।

यशराज फिल्मको यो एक्सन-थ्रीलरमा कट्रिना र सलमानलाई क्रमशः जोया र टाइगर नामक जासुसी पात्रको रुपमा देख्न सकिन्छ । हासमीले पहिलोपटक यशराज ब्यानरमा काम गर्न लागेका हुन् ।

सन् २०१२ मा रिलिज भएको फिल्म एक था टाइगरले टाइगर नामक भारतीय खुफिया एजेन्सी रअका एक जासुसको कथा भन्छ जो पाकिस्तानी जासुसी संस्थाकी महिला एजेन्टको प्रेममा पर्छ ।

सन् २०१७ को दोस्रो सिक्वेलमा टाइगर र जोया इराकमा बन्दी बनाइएकाहरुको उद्दारका लागि खटिएको मिसनमा सहभागि थिए । टाइगरको तेस्रो सिरिजलाई चाहिँ मनिष शर्माले निर्देशन गर्ने भएका छन् । आगामी महिनादेखि छायांकन सुरु हुने जनाइएको छ ।