काठमाडौं - युरोकप फुटबल प्रतियोगिताको १६औं संस्करण आजबाट सुरु हुँदैछ । कोरोना महामारीका कारण एक वर्षपछि सरेको युरोपेली च्याम्पियनसिप शुक्रबारदेखि सुरु हुन लागेको हो । 

उद्घाटन खेल इटली र टर्कीबीच रोममा हुनेछ । खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ । जुलाई ११ मा लण्डनस्थित वेम्बलीमा फाइनल खेल हुनेछ । प्रतियोगिता युरोपको विभिन्न देशको ११ शहरमा आयोजना हुनेछ । 

प्रतियोगितामा साविक विजेता पोर्चुगलसहित विश्व विजेता र साविक उपविजेता फ्रान्स, सर्वाधिक ३ पटकको च्याम्पियन जर्मनी र स्पेन उपाधिको प्रमुख दाबेदार रहेका छन् । यस्तै, विश्व वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियम र युवा टीमले भरिएको इंग्ल्याण्ड पनि उपाधि दौडमा छन् ।