कोशी प्रदेश सभाबाट आगामी आर्थिक वर्षको बजेट पारित
विराटनगर - कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि प्रदेश सभामा प्रस्तुत गरेको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट पारित भएको छ ।
शुक्रबार बसेको प्रदेशसभा बैठकले सरकारले गत असार १ गते प्रस्तुत गरेको बजेट बहुमतले पारित गरेको हो ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले प्रदेशसभामा प्रस्तुत गरेको कूल बजेटमध्ये चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख (५२ प्रतिशत) र पुँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ (४७.७ प्रतिशत) विनियोजन गरिएको छ ।
आगामी आर्थिक वर्षको खर्च व्यवस्थापनका लागि प्रदेश सरकारले विभिन्न स्रोतहरू निर्धारण गरेको छ ।
जसअनुसार, आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड, र सङ्घीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट ८ अर्ब ९८ करोड रुपैयाँ जुटाइनेछ ।
त्यसैगरी, सशर्त अनुदानबाट ४ अर्ब ५७ करोड, समपूरक अनुदानबाट ३९ करोड र विशेष अनुदानबाट ५५ करोड रुपैयाँ स्रोत व्यवस्थापन गर्ने लक्ष्य छ । बजेटमा अपुग हुने ३ अर्ब १३ करोड रुपैयाँ भने नगद मौज्दातबाट व्यहोरिने बजेट वक्तव्यमा उल्लेख छ ।
बजेटले ‘स्वच्छ, सुखी र समुन्नत प्रदेश’को दीर्घकालीन सोचलाई आत्मसात् गर्दै कृषि, पर्यटन, पूर्वाधार, स्वास्थ्य, शिक्षा र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेको छ ।
फेसबुक पेज Like गर्नुहोस