एमालेले सरकारलाई विश्वासको मत नदिने, सहमति अनुमोदनसँगै कार्यदल भंग
काठमाडौं - नेकपा एमालेले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन नगर्ने र विश्वासको मत नदिने निर्णय गरेको छ । च्यालमा बसेको अध्यक्ष केपी शर्मा ओली पक्षका स्थायी कमिटी बैठकले सो निर्णय गरेको हो ।
त्यस्तै, बैठकले पार्टी एकता कायम गर्न गठित १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदै सहमति अनुमोदन गरेको छ । सहमती अनुमोदन गरेसँगै कार्यदल विघटन समेत गरेको छ ।
वरिष्ठ नेता माधवकुमार नेपाल निकटका स्थायी कमिटी सदस्यहरु च्यासलस्थित बैठकस्थल तुल्सीलाल स्मृति भवन पुगेका थिए । बैठकमा बोल्दै भीम रावलले बैठक रोक्ने आग्रह गरेका थिए । अध्यक्ष ओलीले बैठक पुस्तिकामा हस्ताक्षर गरेर मात्र बोल्न पाउने बताएका थिए । तर, आफूले कार्यदलको तर्फबाट बोल्न दिनुस्, नभए उपाध्यक्षको तर्फबाट बोल्न दिनुस् भनेपछि अध्यक्ष ओलीले समय दिएका थिए ।
रावलले कार्यदलले काम गरिरहेको भन्दै पार्टी एकता जोगाउन अध्यक्ष ओलीलाई आग्रह गरेका थिए । रावलले कार्यदलको सहमति भन्दा बाहिर गएर बैठक राखेको भन्दै कार्यदलले जे सहमति गरेको छ, त्यसअनुसार बैठक अगाडि बढाउनुपर्ने आग्रह ओलीसँग गरेका थिए ।
रावलले स्थायी कमिटी बैठक र आजको संसदीय दलको बैठक रोकेर एकताको पहल गर्न आग्रह गरे पनि अध्यक्ष ओलीले बैठक कार्यसूची अनुसार अघि बढ्छ भनेपछि नेपाल पक्षका नेताहरु बाहिरिएका थिए ।बैठकमा नेपाल पक्षका रावलसहित सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र भीम आचार्य पुगेका थिए ।
फेसबुक पेज Like गर्नुहोस