इलाम - इलाम-२ मा हुने उपनिर्वाचनका लागि नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले मनोनयन दर्ता गराएका छन् ।

सुहाङले शनिबार दिउँसो मनोनयन दर्ता गराएका हुन् । मनोनयन दर्ता गराउनु पूर्व उनले राष्ट्रिय विभूति तथा सहिदहरूको शालिकमा माल्यार्पण गरेका थिए।

मनोनयन दर्ता गराउन जाने क्रममा सुहाङले इलामको रत्नचोकमा रहेको रत्नकुमार वान्तवा र वन वान्तवाको शालिकमा माल्यार्पण गरेका थिए ।

त्यस्तै सुहाङले राष्ट्रिय विभूतिहरू भानुभक्त आचार्य र शंखधर साख्वाको सालिकमा पनि माल्यार्पण गरेका थिए । २०७९ को प्रतिनिधिसभा निर्वाचनमा इलाम २ बाट एमालेका सुवासचन्द्र नेम्वाङ निर्वाचित भएका थिए । उनको निधन भएपछि उक्त निर्वाचन क्षेत्रमा आगामी वैशाख १५ गते उपनिर्वाचनको मतदान हुँदैछ ।

इलाम २ बाट एमालेले सुवास नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाएको हो । सुहाङलाई सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रले पनि समर्थन गरेको छ ।