काठमाडौं - हराइरहेका हुम्लाका चन्द्रे कामी ८ दिनपछि भेटिएका छन्। अन्तरजातीय विवाह गरेपछि बेपत्ता भएका चन्द्रे  बुधबार बिहान फेला परेका हुन्।

गत मंसिर २९ गतेदेखि सम्पर्कविहीन रहेका चन्द्रे बुधबार बिहान ८ बजे हिँडिरहेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ। उनको खोजीमा गएको प्रहरीले खार्पुनाथ गाउँपालिकामा चन्द्रेलाई फेला पारेको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी गणेशबहादुर ऐरले बताए।

हुम्लाको सर्केगाड गाउँपालिका– १ जैरका चन्द्रेले मंसिर ५ गते सोरु गाउँपालिका– ४ लिब्र मुगुकी १७ वर्षीया मल्ल थरकी किशोरीसँग प्रमे विवाह गरेका थिए। रमिलाका माइती पक्षले २९ गते राति खोसेर लिएका थिए। त्यसै दिनदेखि सम्पर्कविहीन भएका चन्द्रेलाई खोज्न जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी हेरम्ब शर्माको नेतृत्वमा ३५ जना प्रहरी परिचालन गरिएको थियो।