काठमाडौं - मुलुकका पाँच प्रदेशमा आज पानी पर्ने सम्भावना रहेको  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ। चक्रवात ‘असानी’ हाल पश्चिम-मध्य बंगालको खाडीमा रहेको छ। 

देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

महाशाखाका अनुसार आज प्रदेश १, मधेश प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चटयाङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली र सुदूररपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चटयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति प्रदेश १ र मधेस प्रदेशमा सामान्य बदली रहनेछ। अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ।

त्यस्तै शुक्रबार प्रदेश नं १, मधेस प्रदेश, र बागमती प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। 

प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। अन्य प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

शनिवार प्रदेश नं १, गण्डकी प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।