काठमाडौं - विषाक्त रसायनयुक्त स्यानिटाइजर उत्पादन गरिएको पाइएपछि पाँच वटा उद्योगहरु कारबाहीमा परेका छन् ।

औषधि व्यवस्था विभागले काठमाडौंका चार र भक्तपुरका एक उद्योगले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने केमिकल प्रयोग गरेर स्यानिटाइजर उत्पादन गरेको पाइएपछि कारबाही गरेको हो ।

विभागका अनुसार मापदण्डविपरीत स्यानिटाइजर उत्पादन गर्ने उद्योगहरुमा काठमाडौंस्थित हाइजिन सोप एण्ड केमिकल प्रालि, आधार केमिकल एण्ड फुड इन्डष्ट्री, सर्च केम कम हर्बल प्रडक्ट्स र सूर्यमुखी हर्बल प्रडक्ट्स छन् । यसैगरी भक्तपुरको नेपाल कायाकल्प उद्योग छ ।

ती पाँच कम्पनीले उत्पादन गरी बजारमा पठाएका स्यानिटाइजर प्रयोग नगर्न विभागले सुझाव दिएको छ। साथै, कम्पनीलाई उत्पादनमा रोक लगाइएको छ।

यी कम्पनीले बजारमा बिक्री वितरण गरिरहेका इन्सटेन्ट ह्यान्ड सेनिटाइजर, इन्सटेन्न्ट ह्यान्ड स्यानिटाइजर ओरिजिनल, एड्भान्स ह्यान्ड स्यानिटाइजर, इन्सटेन्ट ह्यान्ड स्यानिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखी ह्यान्ड स्यानिटाइजर छन्।