काठमाडौं,एजेन्सी - जारी १६ औं संस्करणको युरोकप फुटबलमा आज (मंगलबार) चार खेलहरु हुँदैछन् ।

युरोकपमा आज समूह चरणका अन्तिम चार खेलहरु हुने छन् । जसमा समूह ‘ई’र समूह ‘एफ’को २/२ खेलहरु हुनेछन् । 

समूह ‘एफ’अन्तर्गत पोर्चुगलले फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ । साविक विजेता पोर्चुगल र उपविजेता फ्रान्सबीचको खेल नेपाली समयानुसार राति १२:४५ बजे सुरु हुनेछ । पुस्कास स्टेडियममा पोर्चुगल फ्रान्सलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । पोर्चुगल २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

फ्रान्स यस अघि नै नकआउट चरणमा पुगिसकेको छ । समूहको शीर्ष स्थानमा रहेको फ्रान्सले २ खेलमा ४ अंक जोडेको छ । पोर्चुगललाई हराएर फ्रान्स समूह विजेता बन्न चाहन्छ ।

आजको खेल तुलनात्मक रुपमा अन्य खेलभन्दा निकै रोमान्चक हुने अनुमान छ । जारी युरोकपको मुख्य दावेदार रहेका दुवै टीममा युवा खेलाडीको वर्चस्व रहेको छ । दुवै टिमका खेलाडी राम्रो फर्ममा रहेका छन् । 

फ्रान्सका लागि केलियन एमबाप्पे, एन्टोनिया ग्रिजम्यान, करिम बेन्जेमा अट्याकिङमा रहेका छन् । उनीहरुमा पार्चुगलका डिफेन्डरलाई तहसनहस बनाउने खुबी छ । साथै, सन् २०१६ मा भएको पछिल्लो युरोकपको फाइनलमा व्यहोरेको हारको समेत बदला लिने रणनीतिमा फ्रान्स छ ।

यता, पोर्चुगललाई आजको खेल जित्नै पर्ने दबाब रहेको छ । सहज तरिकाले नकआउट चरणमा पुग्नको लागि आजको खेल आफ्नो पोल्टामा पार्नुपर्ने पक्षमा पोर्चुंगल छ । 

युवा खेलाडीले भरिएको पोर्चुगलको अट्याकिङ निकै दमदार रहेको छ । सुपस्टार क्रिस्टियानो रोनाल्डो, डियगो जोटा, डेभिड सिल्भा, बु्रनो फर्नान्डेजले फ्रान्सका डिफेन्डरलाई हाबुकाबु खेलाउने छन् ।

रोनाल्डो आफ्नो गोलसंख्या बढाउने अभियानमा पनि रहेका छन् । यी पोर्चुगाली स्टारले पाँच युरो संस्करणमा १२ गोल गरिसकेका छन् ।

रोनाल्डोले पोर्चुगलका लागि १ सय ७७ खेलमा १ सय ७ गोल गरिसकेका छन् । उनी सर्वकालीन सर्वाधिक गोलको कीर्तिमानबाट २ गोल पछाडि छन् । 

रमाइलो तथ्य के छ भने रोनाल्डोले अहिलेसम्म फ्रान्सविरुद्ध गोल गर्न सकेका छैनन्, आफ्नो विपक्षी टिमविरुद्धका ६ खेलमा ।

फुटबलमा तुलनात्मक रुपमा उत्कृष्ट मानिएको यी दुई टोलीमध्ये फ्रान्स बलियो मानिन्छ । दुई पटकको विश्व विजेता फ्रान्स पोर्चुगलभन्दा बलियो छ । 

यी दुई टोली अहिलेसम्म २७ पटक आमुनेसामुने भएका छन् । जसमा १९ खेलमा फ्रान्स र ६ खेलमा पोर्चुगल विजयी भएको छ भने २ खेल बराबरीमा रोकिएको छ । 

No description available.