काठमाडौं - साढे ३३ किलो सुन तस्करी प्रकरणमा जोडिएका काले भनिने कृष्ण गोपाल अग्रवाल पक्राउ परेका छन्। सो सुन प्रकरणका नाइके गोरे भनिने चुडामणि उप्रेतीको व्यवस्थापनमा हुने सुन तस्करीको लगानीकर्ता मध्येका काले पक्राउ परेका हुन्।

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)को सहयोगमा यूएईबाट नेपाल डिपोर्ट भएका उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरेको हो। गोरेले ल्याउने सुनमा अग्रवालको पनि लगानी रहँदै आएको थियो। उनले २०६९ सालदेखि सुनको अवैध कारोबारमा गोरेमार्फत काम गरिरहेको अनुसन्धानमा खटिएका एक प्रहरीको भनाई छ।

सो सुन प्रकरणमा जोडिएका गोरेसहितका व्यक्तिहरु पक्राउ परेको भए पनि काले भने यूएईमा नै बसिरहेका थिए।