पूर्वराजकुमार ह्यारीद्वारा नेपालीको प्रशंसा
काठमाडौं - बेलायतका पूर्वराजकुमार ह्यारीले नेपालीहरुको प्रशंसा गरेका छन् । कोरोनाभाइरसको महामारीको समयमा पनि नेपालीहरूको आत्मबल बलियो रहेको भन्दै भिडियोमार्फत उनले तारिफ गरेका हुन्।
ट्रेलवाकर युकेले १०० किलोमिटर लामो परोपकारी रिले दौडबारे जारी गरेको एक भिडिओमा ह्यारीले प्रशंसा गरेका हुन् । अक्सफाम र द गोर्खा वेलफेयर ट्रस्टद्वारा विश्वव्यापी स्वास्थ्य संकटको बेला संघर्ष गरिरहेका नेपालीहरूको लागि सहयोग गर्न रिले दौडको आयोजना गर्न लागेको छ ।
सोही दौडबारे जारी भिडियोमा ह्यारीले कोरोना महामारी र सन् २०१५ को भूकम्पलाई जोडेर नेपालीहरू एकअर्काको दुःखलाई आत्मसात् गर्ने स्वभावका भएको भन्दै तारिफ गरिका छन् । उनले भनेका छन्, ‘करिब ५ वर्षअघि, मैले नेपालका विभिन्न समुदायमा भ्रमण गर्न, परिवारहरूलाई भेट्न र राज्यले भूकम्पपछि कसरी पुनर्निर्माणको काम गरिरहेको छ भन्ने आफ्नै आँखाले देखेको थिएँ। भवन, मन्दिर, घर र सम्पूर्ण गाउँ पूर्ण रूपमा ध्वस्त भएको थियो। तर यो स्पष्ट थियो कि नेपालीहरूले सामना गर्नु परेको विपद्का बावजुद् पनि उनीहरूको आत्मबल र फेरि पुरानै लयमा फर्किने शक्ति कहिले कमजोर भएन। उनीहरू एकअर्काको हेरचाह गर्थे र आपसमा दयाको भाव थियो ।’
अक्सफाम र द गोर्खा वेलफेयर ट्रस्टले नेपालीमा पिपिई, हात धुने सामग्री र सार्वजनिक शिक्षामा सहयोग गर्नको लागि आर्थिक सहयोग जुटाइरहेका छन्।
रिले दौड कोरोनाभाइरस महामारीको बीच भर्चुअल रूपमै हुने बताइएको छ। मेडल लिन र ट्रेलवाकर हिरो बन्न २७ सेप्टेम्बर सम्ममा समूहमा १०० किलोमिटर दौडिनु पर्नेछ भने ३ सय ५० पाउन्ड उठाउनु पर्नेछ।

.gif)




फेसबुक पेज Like गर्नुहोस