काठमाडौं - लोक सेवा आयोगको परिक्षामा कोरोनाभाइरस संक्रमित परिक्षार्थी सहभागि हुन नपाउने भएका छन् ।

आयोगले संक्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड जारी गर्दै कोभिड–१९ संक्रमित र आइसोलेसनमा बसेका व्यक्तिहरूले परीक्षा दिन नपाउने जनाएको हो ।

'परीक्षार्थी आफू कोभिड–१९ को संक्रमणबाट संक्रमित भए/नभएको स्वयंले घोषणा गर्नुपर्नेछ । संक्रमित परीक्षार्थीले परीक्षा केन्द्रमा प्रवेश गर्न हुने छैन ।' जारी मापदण्डमा भनिएको छ ।

परीक्षा केन्द्रमा प्रवेश गर्नुअघि उम्मेदवार स्वयम्ले कम्तिमा माक्स, स्यानिटाइजर तथा आफ्नो लागि खानेपानीको अनिवार्य व्यवस्था गर्नुपर्नेछ ।

सरकारले कोरोना महामारीकै बेला आयोगलाई परीक्षा सञ्चालन गर्न स्वीकृति दिएपछि यस्तो मापदण्ड बनाइएको हो। लोक सेवाले परीक्षामा सामेल हुन पुरुषका लागि उमेर हद ३५ र महिलाका लागि ४० वर्ष तोकेको छ ।

गत वैशाखदेखि रोकिएको लोक सेवाको विज्ञापन तथा परीक्षा यसै महिना सुरु हुँदै छ । असोजमा सहसचिव र उपसचिव, कात्तिकमा प्रशासनको शाखा अधिकृत, मसिंरमा प्राविधिकतर्फको शाखा अधिकृत र त्यसपछि क्रमशः नायव सुब्बा तथा खरिदारलगायत पदको विज्ञापन निकाल्ने जनाएको छ ।

पहिलो चरणको परीक्षा सम्पन्न भएर परिणामसमेत आइसकेका विभिन्न तहको दोस्रो चरणको लिखित परीक्षासमेत आयोगले थाल्दै छ । आयोगले स्वास्थ्य सुरक्षा मापदण्डअनुसार नै परीक्षा लिने स्पष्ट पारेको छ । त्यसका लागि एउटा परीक्षा केन्द्रमा एक सय जना मात्रै परीक्षार्थी हुनेछन् ।

एक बेन्चमा एक जना मात्रै बस्ने गरी एउटा हलमा २५ जना परीक्षार्थी राखिनेछ । परीक्षा केन्द्रमा परीक्षार्थी तथा परीक्षामा खटिने जनशक्तिले अनिवार्य रूपमा मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, भौतिक दूरी कायम गर्नुपर्ने मापदण्डमा उल्लेख छ ।