काठमाडौं - नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । 

ललितपुरको च्यासलमा रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानमा तीन दिनदेखि जारी एमालेको १०औँ केन्द्रीय कमिटी बैठक आज पनि बस्न लागेको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारका उपलब्धि, सर्वोच्च अदालतको असार २८ गतेको फैसला पार्टीको आगामी कार्ययोजना, पार्टीको सुदृढीकरण र शुद्धीकरण अभियानलगायत विषय कार्यसूची रहेका छन् ।

बुधबार बसेको बैठकले पार्टीको नीतिविपरीत नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने नेता माधवकुमार नेपालसहित २२ सांसद्लाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो । एमालेले त्यसबारे चित्तबुझ्दो जवाफ आएपछि निर्णय गर्ने प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । आजको बैठकमा त्यससम्बन्धी निर्णय हुनसक्ने जनाइएको छ।

बुधबारको बैठकमा अध्यक्ष ओलीले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै आन्तरिक एकताका लागि अन्तिम समयसम्म प्रयास गर्न आफू तत्पर रहेको स्पष्ट पारेका थिए । बैठकले चारवटा विशेष प्रस्ताव पनि पारित गरेको थियो । आजको बैठक दिउँसो ३ बजे बस्नेछ ।