च्याम्पियन्स लिग अवार्डको मनोनयन सार्वजनिक, रोनाल्डो-मेस्सी परेनन्
काठमाडौं - युरोपेली फुटबलको सर्वोच्च संस्था यूईएफएले च्याम्पियन्स लिग फुटबलको उत्कृष्ट खेलाडी अवार्डको मनोनयन सार्वजनिक गरेको छ ।
शुक्रबार विभिन्न विधातर्फको उत्कृष्ट तीन जनाको मनोनयन सार्वजनिक गरेको हो । जसमा लिग विजेता चेल्सीको दबादब रहेको छ । मनोनयनमा लण्डन क्लबका ५ खेलाडी परेका छन् ।
मनोनयनमा पछिल्लो एक दशकदेखि फुटबल क्षेत्रमा दबादब बनाइरहेका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र अर्जेन्टिनी स्टार लियोनेल मेस्सी परेनन् । गत सिजन रोनाल्डोको टिम युभेन्टस च्याम्पियन्स लिगमा पोर्टोसँग राउन्ड अफ १६ मा पराजित हुँदै बाहिरिएको थियो ।
यता, मेस्सीको टिम पनि पेरिस सेन्ट जर्मेन क्लब (पीएसजी)सँग राउन्ड अफ १६ मै पराजित भएको थियो । यूईएफएले मनोनयन गरेको उत्कृष्ट फरवार्डको सूचीमा बायर्न म्युनिखका रोबर्ट लेवान्डोस्की, बोरुसिया डर्टमुन्डका एर्लिङ हालान्ड र पीएसजीका किलियन एमबाप्पे शीर्ष तीनमा छन् ।
उत्कृष्ट मिडफिल्डरतर्फ शीर्ष तीनमा उपाधि विजेता चेल्सीकै दुई खेलाडी छन् । कान्टे र जर्जिन्होसँगै म्यानचेष्टर सिटीका केभिन डे ब्रुएन पनि मनोनयनमा परेका छन् ।
यस्तै, डिफेन्डरतर्फ मनोनयनमा पनि फाइनल खेलेका तीन खेलाडी नै रहेका छन् । चेल्सीका कप्तान सेजार एज्पिलीक्वेटा र एन्टोनियो रुडीगरसँगै सिटीका रुबेन डियास मनोनयनमा परेका छन् ।
यसैगरी उत्कृष्ट गोलकिपरतर्फ शीर्ष तीनको मनोनयनमा चेल्सीका एडुआर्ड मेन्डी, म्यानचेष्टर सिटीका एण्डरसन र रियल मड्रिडमा थिबाउ कोर्तवा रहेका छन् ।
च्याम्पियन्स लिगको समूह चरणमा प्रतिस्पर्धा गर्ने ३२ क्लबका प्रशिक्षक तथा युरोपेली स्पोर्ट्स मिडियाका ५५ पत्रकारले खेलाडीलाई मत दिन पाउने छन् । जसले धेरै मत प्राप्त गर्यो सोही खेलाडीले उपाधि जित्नेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस