काठमाडौं - पोखराबाट मुस्ताङतर्फ उडेको तारा एयरको सम्पर्कविहीन जहाज खोजीका लागि सोमबार बिहानैदेखि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ । 

पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको जहाज आइतबार बिहानदेखि सम्पर्कविहीन छ । सो एयरका अनुसार उक्त विमानमा चालक दलका तीन सदस्यसहित २२ यात्रुहरू सवार रहेका थिए । आइतबार साँझसम्म सुरक्षाकर्मी र स्थानीयले जहाजको खोजी गरे पनि फेला पार्न सकेका छैनन् । 

आज बिहानैदेखि फेरि वायुयान हराइरहेको सम्भावित स्थान न्याउरीकोट, कोवाङ्ग, लेते, घोडेपानी र टिटि ताल वरिपरि खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी तथा तारा एअरको उद्धार टोली परिचालन गरिएको छ । 

आइतबार बिहान ९:५५ मा पोखराबाट उडेको जहाज १०:१५ मा मुस्ताङको जोमसोम विमानस्थलमा अवतरण गर्नुपर्ने थियो। तर, जहाज अन्तिम पटक जोमसोम टावरसँग १०:०७ बजे घोडेपानी भन्ने स्थानमा सम्पर्कमा आएपछि हराएकाे थियाे । मौसम सफा नहुँदा खोजी कार्यलाई निरन्तरता दिन कठिनाइ भइरहेको बताइएकाे छ ।