भक्तपुर - गठ्ठाघरमा प्रदर्शनमा उत्रिएकाहरूमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ।

ट्रकको ठक्करले स्कुटर चालकको मृत्यु भएपछि उत्पन्न तनावपछि भक्तपुरको गठ्ठाघरमा प्रहरीले अश्रुग्यास हानेको हो।

आज दिउँसो ट्राफिक प्रहरीको चेकिङमा रोकिएको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

त्यसपछि स्थानीय बासिन्दाहरुले प्रदर्शन गरेका हुन्। उनीहरुले ट्रक चालकलाई कारबाही गर्न माग गरेका छन् ।

प्रदर्शनकारीले सडकको बीचमा रहेको ट्राफिक आइल्याण्ड पनि भत्काइदिएका छन् । प्रहरीले स्कुटर चालकको शव उठाएर त्रिवि शिक्षण अस्पताल लगेपछि तनावको स्थिति सिर्जना भएको थियो।

प्रदर्शनकारी आक्रामक भएपछि भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास हानेको छ । दुर्घटनामा मृत्यु भएको महिलाको नामथर र ठेगाना खुलेको छैन ।