काठमाडौं - सानिमा क्यापिटलकी मर्चेन्ट हेड रश्मी रिजालले आत्मदाह गरेको प्रहरी अनुसन्धानको निष्कर्ष छ ।
सिसिटिभी फुटेज, घटनास्थलको अवस्था तथा बरामद प्रमाणका आधारमा घटनामा अन्य व्यक्तिको संलग्नता नदेखिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको हो।
साउन ८ मा बिहान ७ बजे घरबाट निस्केकी नुवाकोटको बेलकोटगढी नगरपालिकास्थित तादी घर भएर मनमैजुमा बस्ने रिजाल ४५ वर्षीया रिजाल घर फर्केकी थिइनन् । घर नफर्किएपछि परिवारले प्रहरीमा खोजतलासका लागि निवेदन दिएको थियो।
त्यसपछि तारकेश्वरस्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिक शंकास्पद अवस्थामा रोकिएको बीएई ०४१० नम्बरको ईभी कारभित्र उनको शव फेला परेको थियो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार रिजाल पेट्रोल बोकेर घटनास्थल पुगेकी थिइन्।
उनले शरीरमा पेट्रोल छर्किएपछि आगो लगाएको र त्यसपछि गाडीभित्र प्रवेश गरेको देखिएको प्रहरीले जनाएको छ।
घटनास्थलबाट गाडीभित्र जलेको अवस्थामा तीन वटा लाइटर बरामद भएको छ।
साथै गाडीको ढोका भित्रबाट लक गरिएको र सिसिटिभी फुटेजमा अन्य व्यक्तिको उपस्थिति नदेखिएकाले आत्मदाह भएको प्रारम्भिक निष्कर्ष निकालिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गाडीको भित्री भागमा मात्रै आगलागी भएको थियो भने बाहिरी भाग सुरक्षित रहेको थियो। रिजाल केही समयदेखि मानसिक तनावमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पोस्टमार्टम सम्पन्न भएपछि रिजालको शव आज आफन्तले बुझेका छन् । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

.gif)



