काठमाडौ – विगत २४ घण्टामा नेपालका विभिन्न जिल्लामा थप ५७ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ।

यो वृद्धिसँगै देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १७,६५८ पुगेको छ। तीमध्ये ११,६९५ जना सङ्क्रमितहरू भाइरसमुक्त भएर घर फर्किएको र ४० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ।

शनिवार ५७ जनामा मात्रै सङ्क्रमण पुष्टि भएको थियो। विगत २४ घण्टामा ५८ जना निको भएर घर फर्किएको जानकारी मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका छन्।

उनका अनुसार अहिले सङ्क्रमण भएका कुल ५,९२३ मानिस देशभरि आइसोलेशनमा छन्। गत असार १९ गते सर्वाधिक ७४० जनामा सङ्क्रमण पुष्टि भएको थियो। त्यसपछि दैनिक पुष्टि हुने सङ्क्रमितको सङ्ख्या घटिरहेको छ।

भारतबाट घर फर्किने मानिसको सङ्ख्या घटेकाले क्वारन्टीनमा चाप घटेको र परीक्षणको सङ्ख्या स्वतः कम हुँदा सङ्क्रमित व्यक्ति फेला पर्ने क्रम पनि घटेको सरकारको भनाइ छ।